केन्द्रिय समिति बैठकका निर्णयहरू – २०७७/०३/२०

July 5, 2020

  1. यही मिति २०७७ आषाढ़ २० गते शनिबार जनमत पार्टीको केन्द्रिय समितिको अनलाइन बैठकले विगत ३ महिनाको कार्य-प्रगतिको मूल्याङ्कन एवम् समीक्षा गरी यस बीचमा भएको संगठन विस्तार, प्रशिक्षण, अन्तरक्रिया तथा नागरिकता विधेयक विरुद्ध जारी रहेको आन्दोलनलाई सफल बनाउन योगदान दिने सम्पूर्ण नेता, कार्यकर्ता, स्वयंसेवक, शुभचिन्तक तथा जनतालाई जनमत पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
  2. कार्य समीक्षाको आधारमा आफ्नो जिल्लामा उत्कृष्ट एवं तीव्र तवरले संगठन विस्तार गरेको र आन्दोलनलाई अगाडी बढाएकोमा “Star Performer of the Quarter” सम्मान यसपालि रौतहट जिल्लालाई दिने निर्णय गरेको छ।
  3. जनमत पार्टीले आफ्नो लोगोमा केवल जनमत पार्टीको नाम देवनागरी र रोमनमा रहने गरी परिवर्तन गरेको छ। जनमत पार्टीको आधिकारिक लेटरहेडमा लोगो, अष्टदल बीचमा रहेको पार्टीको झंडा र चुनावचिन्ह राख्ने निर्णय गरेको छ।
  4. कोविड-१९ को महामारीले गर्दा बंदाबंदी रहेकोले सामान्यत: एक वर्षमा गरिने राष्ट्रिय परिषद्को बैठक अवस्था सामान्य भएपछि मात्रै गर्ने निर्णय गरेको छ। त्यसैगरी संगठनका विभिन्न तहका अधिवेशनहरू पनि स्थिति सामान्य भएपछि उपयुक्त वातावरण हेरी मात्रै गर्ने निर्णय गरेको छ र त्यति बेलासम्म तदर्थ समितिहरू नै लागू हुनेछन्।
  5. संगठन विस्तार तथा सुदृढ़िकरण सम्बन्धी

  • आउने निर्वाचनमा भाग लिएर भारी बहुमतले सर्वत्र विजय हासिल गर्नका लागि अहिलेदेखि नै हरेक वडादेखि हरेक निर्वाचन क्षेत्रका लागि सम्भावित सशक्त उम्मेदबारको खोजी गर्ने, विजयको लागि आवश्यक सशक्त संगठन निर्माण गर्ने, प्रशिक्षण दिने, आवश्यक तैयारीहरू गर्ने, जनसम्पर्क बढाउँदै जनताको पक्षमा काम गर्ने, र संगठनको स्थितिको बारेमा नियमित अनुगमन गर्ने निर्णय गरेको छ।
  • जनमत पार्टीको सदस्यतालाई आक्रमक रूपमा वितरण गर्ने, हरेक गाउँपालिका/नगरपालिका तथा त्यसका वडाहरूमा तदर्थ समितिहरू निर्माण गर्ने, समितिहरूलाई प्रशिक्षण दिने, नियमित जिम्मेबारीमा लगाउने तथा समितिहरूलाई अनुगमन गर्ने कार्यलाई तदारुकताका साथ अगाडी बढाउने निर्णय गरेको छ।

(स्थानीय पालिका तथा वडा समितिहरूलाई विडियो कल मार्फत् भए पनि प्रशिक्षण दिने, फोन काउन्सेलिङ गर्ने, पार्टीको वेबसाइट janamatparty.org/downloads मा गएर विभिन्न पोस्टर तथा पर्चाहरूको अध्ययन गर्न प्रेरित गर्ने, घोषणा-पत्र र प्रशिक्षण पुस्तिका पढ़न प्रेरित गर्ने, पार्टी सम्बन्धी विडियोहरू डाउनलोड गरेर हेर्न र ठाउँ-ठाउँमा देखाउन निर्देश दिने,  अध्ययन र सर्वेक्षण गरी तथा सूचनाको अधिकार प्रयोग गरी जनतामा लोकप्रिय रहेको स्थानीय मुद्दाहरू समेटेर आ-आफ्नो भाषण र पर्चा तैयार गर्ने, आफ्नो भाषण रेकर्ड गरेर मूल्याङ्कनका लागि जिल्ला समितिलाई वा janamat.training@gmail.com मा पठाउन निर्देश दिने जस्ता कार्यहरू गर्ने)

  • संगठनलाई चुस्तदुरुस्त बनाउन र काम गर्नेलाई प्रोत्साहित गर्न तथा पद/जिम्मेबारी लिएर काम नगर्ने र अनावश्यक विवाद एवम् गूटबंदी उत्पन्न गराउने प्रवृत्ति निरुत्साहित गर्न अनुगमन बढाउने तथा अनुशासनलाई कडाईका साथ पालन गराउने निर्णय गरेको छ। केन्द्रिय समितिले दिएको निर्देश नमान्ने र पार्टीद्वारा तोकिएका वा पठाइएका इन्चार्ज वा प्रतिनिधिहरूलाई नमान्नेहरूलाई पार्टीले पनि नमान्ने नीति कडाईका साथ लागू गरिनेछ।
  1. नागरिकता विधेयक विरुद्ध आन्दोलन सम्बन्धी:
  • केन्द्रिय समितिको बैठकले निर्णायक आन्दोलनको लागि वृहत् सहकार्य गर्न ‘संयुक्त अधिकार आन्दोलन मोर्चा’ मा सहभागिता हुन सम्पूर्ण आन्दोलनकारी राजनैतिक पार्टीहरूका साथ-साथै हरेक जिल्लामा रहेका सामाजिक, व्यवसायिक तथा पेशागत संघ-संगठनहरूलाई समेत वृहत् गठबन्धनमा आउनका लागि पत्राचार गर्ने निर्णय गरेको छ।
  • संसद्को वर्षे अधिवेशन हाल समाप्त गरिएकोले आन्दोलनलाई अहिले गाउँ केन्द्रित गरी निरन्तरता दिने र वृहत् तैयारी गरी सशसक्त तथा निर्णायक आन्दोलनको लागि तम्तैयार रहने निर्णय गरेको छ।
  • २०७७ श्रावण ३ गते शनिबारसम्मका लागि स्थानीय तहका हरेक वडाहरूमानागरिक संवाद” कार्यक्रम संचालन गरिनेछ। त्यसमा ‘मधेशी जनताको खोसिँदै गएको अधिकार र आन्दोलनको आगामी रणनीति’ सम्बन्धी छलफल चलाइनेछ। संवाद कार्यक्रमसँगै आन्दोलन समिति/वडा समिति निर्माण गरिनेछ। संवाद कार्यक्रमपछि स्थानीय स्तरमा गाउँभरि जुलुस प्रदर्शन वा स्थानीय चौक वा हाटबजारमा कोणसभाको कार्यक्रम परिस्थिति अनुसार आयोजना गरिनेछ। यो कार्यक्रम संचालन गर्दा अहिले चलिरहेको अधिकार आन्दोलनबारे जनचेतना नपुगेको गाउँमा वा जनमत पार्टीको समिति न रहेको वडालाई पहिलो प्राथमिकतामा राखेर गरिनेछ।
  • २०७७ श्रावण ३ गते शनिबार हरेक जिल्लामा जिल्ला स्तरीय आन्दोलनको समीक्षा कार्यक्रम राखिनेछ र थप आन्दोलनको रणनीति बनाइनेछ।

 

  1. कोभिड-१९ को महामारीले लकडाउन रहेको अवस्थामा समेत अनलाइन माध्यमबाटै भए पनि केन्द्रिय समितिको बैठक सफलतापूर्वक सम्पन्न गरेकोमा जनमत पार्टी सम्पूर्ण सहभागीलाई धन्यवाद ज्ञापन गर्दछ।
  2. जनमत पार्टी समस्त नेता, कार्यकर्ता, शुभचिन्तक तथा आम-जनतामा कोभिड-१९ को  महामारीको प्रतिकूल परिस्थितिमा आफ्नो स्वास्थ्य र सुरक्षालाई ख्याल राख्न अनुरोध गर्दछ।

……………………………..

डा. सी. के. राउत

अध्यक्ष, जनमत पार्टी