प्रश्न र टिप्पणीहरू

किसान आन्दोलनबारे केही टिप्पणीहरूको जवाब

#टिप्पणी_१ : यो किसान आन्दोलन होइन, जनमत पार्टीको आन्दोलन हो !

– यो आन्दोलनमा जनमत पार्टीको अलावा अरू संघ-संगठनहरू, स्थानीय तहहरू, अरू पार्टी तथा तिनका नेताहरूले समर्थन जनाइसकेका छन्। त्यही भएर यसलाई हामी किसान आन्दोलन नै भन्न चाहन्छौं ताकि सबै पार्टी र संघ-संगठनहरू यसमा संयुक्त रूपमा आन्दोलन गर्न सकून्, भलै यसमा अहिले जनमत पार्टीले ठूलो हिस्सेदारी लिइराखेको छ।

तैपनि कसैले यो जनमत पार्टीको आन्दोलन हो भन्छ भने यो आलोचना होइन, प्रशंसा हो। यो त गर्वको विषय हो कि दशकौंसम्म कुनै अरू पार्टीले किसानको समस्या समाधान गर्ने तर्फ सोचेन, र अहिले जनमत पार्टीले यो काम गर्दैछ।

र सादर अनुरोध: आन्दोलन सफल भएपछि वा निर्वाचनको बेलामा पनि त्यही भनेर प्रचार गरिदिनुहोला – त्यो त जनमत पार्टीको आन्दोलन थियो ! जनमत पार्टीले किसानको माग पूरा गराइदिएको हो !

 

#टिप्पणी_२ : किसान आन्दोलनको मुद्दा किसानले उठाउनु पर्ने, राजनैतिक पार्टीले किन?

त्यसो भए भ्रूणहत्याको विरोधमा भ्रूणहरू नै सडकमा ओर्लेर आन्दोलन गर्नु पर्ने ? शिक्षा राम्रो हुनु पर्छ भनेर विद्यार्थीले नै आन्दोलन गर्नु पर्ने, राजनैतिक पार्टीको सरोकार नहुनु पर्ने? स्वास्थ्य सेवा राम्रो हुनु पर्छ भनेर विरामीले नै आन्दोलन गर्नु पर्ने, त्यो राजनैतिक पार्टीको सरोकार नहुनु पर्ने? लाखौं सडक बालबालिकालाई व्यवस्थापन गर्नु पर्छ, तिनीहरूको गाँस बास कपास शिक्षा स्वास्थ्यको व्यवस्था गर्नु पर्छ भनेर त्यै बालबालिकाले नै आन्दोलन गर्नु पर्ने, राजनैतिक पार्टीले सोच्न नहुने ? अनि राजनैतिक पार्टी चाहिँ खाली आफ्नो कुर्सीको लागि मात्रै आन्दोलन गर्नु पर्ने हो? राजनैतिक पार्टी के को लागि?

 

#टिप्पणी_३ : सीके राउत टाइकोट लगाउँछ, किसानको कुरा कसरी उठाउन सक्छ !

पहिलो कुरा – राजनीति विचारधाराले हुने हो। राजनैतिक विचारधारा जोसँग हुन्छ, देशको समृद्धिको रोडम्याप जोसँग हुन्छ उसले नै राजनैतिक कुरा गर्न सक्छ। शून्य विचारधारा र देश समृद्धिको कुनै योजना नभएका फरार अपराधीहरूको झुंड भए पछि उसले कुरा नै के गर्न सक्छ ? टाइकोटको ! विचारशून्य अनपढ अपराधीहरूले गर्नसक्ने भनेकै त्यही हो।

दोस्रो कुरा – यदि टाइकोटको कुरा हो भने किसान र मजदूरका सबभन्दा ठूला नेता मार्क्स, एंगेल्स वा लेनिन हुने थिएनन्, किनकि यिनीहरू किसान वा मजदूर थिएनन्। दलितका मसिहा अम्बेडरकर हुने थिएनन्। त्यसैले राजनीति विचारधाराले हुन्छ, टाइकोटले हैन। (टाइकोट अम्बेडकरले सँधै किन लगाए, अध्ययन गरेर त्यतिमात्रै बुझ्नु भयो भने सीके राउतको कुरो बुझ्न सजिलो हुन्छ। केवल सम्भ्रान्त वर्गले किन, हामी त चाहन्छौं हरेक किसानको छोराछोरीले टाइकोट लगाउन सकोस्!)

तेस्रो कुरा – टाइकोट वा ड्रेस व्यक्तिको प्राज्ञिक र व्यवसायिक पृष्टभूमिमा निर्भर गर्छ। कुन ठाउँमा के प्रयोजनको लागि उपस्थित भएको हो त्यसमा निर्भर गर्छ। क्यामब्रिज, अक्सफोर्ड वा हार्वड पुगेको मान्छेलाई थाहा हुन्छ कि ‘लन्च’ र ‘डिनर’को लागि पनि अलग-अलग टाइ र ड्रेसकोड हुन्छ। जुन भ्रष्ट अपराधीहरूले धान चोर्ने र दारु पिउने बाहेक केही जानेको छैन, उसले प्राज्ञिक कोडको बारेमा केही थाहा हुने कुरो भएन। पहिला कम-से-कम त्यति बुझ्ने हैसियत त बनाऊ।

चौथो कुरा – जुन कपडा आफैंले मेहनत गरेर कमाएर लगाएको हुन्छ, त्यो गर्वले लगाएर देखाउन सकिन्छ। डा. सीके राउतले आफ्नो कमाईले कपडा लगाए, गर्वले लगाउँछन्। टाइ कुनै महँगो कुरा होइन, २००-३०० रुपैयाँमा पाइन्छ। बरु भ्रष्ट मन्त्रीहरूले एक दिनमा जति दारू पिउँछन् वा होटलको जतिको बिल बनाएर भत्ताको नाममा सरकारबाट पैसा लिन्छन्, त्यसमा टाइ त के पूरा सूट नै बन्छ।

तैपनि भ्रष्ट “धानचोर” मन्त्रीहरूले त्यो लगाउन सक्दैनन्। किनकि तिनीहरूको लागि चोरीको माल हुनेछ ! चोरीको माल त देखाउन सक्दैनन्! देखाए आफ्नै टोलका छिमेकीले ती मन्त्रीलाई सोध्नेछन् – लंगोटी नहुनेले मन्त्री बनेपछि भ्रष्टाचारको पैसाले टाइ लगाउन थाल्यो ! त्यसैले ती मन्त्रीहरूसँग भ्रष्टाचारको ठूलो सम्पत्ति भए पनि विचरा टाइ लगाउन पाउँदैनन् र अरूको ईर्ष्या गरेर बस्न वाध्य छन्।

(त्यसो त ती मन्त्रीको आफ्नै पार्टी अध्यक्षले पनि त टाइकोट लगाउँछन् है, भ्रष्टाचारकै पैसाले भए पनि! कुन ठूलो कुरो हो र!)

#टिप्पणी_४: सीके राउतको कपाल लामो छ, कपाल मेन्टन गर्न खर्च लाग्छ /यो कुन स्टाइल हो !

– हामी चिन्ता गर्छौं किसानको हितको, पेन्सन, खेती, मलखादको। हामी चिन्ता गर्छौं – देशको समृद्धिको, युवाको रोजगारीको, शिक्षा र स्वास्थ्यमा प्रगतिको। तर एउटा झुंडलाई चिन्ता छ सीके राउतको कपालको। यो वैचारिक दरिद्रता हो।विचारधारा र देश समृद्धिको कुनै योजना नभएका फरार अपराधीहरूको झुंड भए पछि उसलाई सीके राउतको कपाल नै ठूलो मुद्दा लाग्छ। कठै विचारशून्य विचराहरू !

कुन स्टाइल हो थाहा पाउन त विश्वको इतिहास तथा संस्कृति पढेलेखेको र अध्ययन गरेको हुनुपर्छ। विश्वका महान् राजनितिज्ञ, कुटनितिज्ञ, दार्शनिक, लेखक र वैज्ञानिकहरूको तस्वीर हेर्नोस् र अध्ययन गर्नोस्, अनि मात्रै थाहा हुन्छ सो कपाल किन त्यस्तो छ।

 

#टिप्पणी_५: जिन्स पाइन्ट लगाएका किसानहरू छन्!

– हामी त हेर्नै चाहन्छौं – किसान समृद्ध होस्, राम्रोभन्दा राम्रो लुगा आङ्गमा होस्, हातमा महँगो घडी र मोबाइल पनि होस्, कोट पनि लगाऊन्, सुनको सिक्री पनि लगाऊन्, एसी लगाएको कोठामा सुतुन्, कार चढून। किसान भनेको सँधै गरीब नै हुनुपर्छ, खुट्टामा चप्पल हुनुहुँदैन, राम्रो लुगा लगाउनु हुँदैन, भन्ने सामन्ती सोच राख्ने मान्छेहरूले नै किसानलाई त्यसरी गरीब, मजबूर र लाचार सँधै भरि बनाएर हेरिराख्न चाहन्छन् र आफू मात्रै ती साधनहरू उपभोग गरिरहून् चाहन्छन्।

त्यसो त! हाथी चले बजार, कुत्ता भूके हजार ! केही फरक पर्दैन, जसलाई जे भन्नु छ भन्न दिनोस्। हामी आन्दोलन सफल गरौं ! सबभन्दा ठूलो जवाब त्यही हुनेछ।

किसान आन्दोलन – जिन्दाबाद !