पृष्टभूमि

किसान आन्दोलन – २०७८ : पृष्टभूमि

किसान आन्दोलन किन ?

१) किसानलाई समयमा मलखाद उपलब्ध गराउनः

देश कृषि प्रधान भए पनि वर्षौदेखि किसानहरूले समयमा मलखाद नपाउने समस्या झेल्दै आएका छन् । जुन सरकार आए पनि मलखादको समस्या यथावत् राख्ने अनि मल माफियाहरूसँग मिलेर किसानलाई लुट्ने क्रम जारी छ । समयमा मलखाद नपाउँदा कृषि उपजमा कमी हुने र किसानलाई घाटा हुने गरेको छ । बिचौलियाहरूमार्फत् मलखाद उपलब्ध हुँदा किसानहरू दोहोरो–तेहरो मारमा पर्ने गरेका छन् । किसानलाई पर्याप्त मात्रामा समयमै मलखाद र बिउ–बिजन राज्यले उपलब्ध गराउनु पर्छ ।

२) कृषि ऋण मिनाहा गराउनः
ऋण लिएर खेती गर्ने किसानहरूले बालीनालीको उचित मूल्य नपाउने र भुक्तानीसमेत समयमा नपाउने वर्षौदेखिको परिपाटीका कारण हजारौँ किसानका जग्गा–जमिन बन्धकमा छन् । कैयौँ किसान ऋणका कारण घरबारविहीन भएका छन् । किसानहरूको ऋण मिनाहा गरी सहज वातावरणमा खेतीकिसानी गर्ने वातावरण सरकारले बनाउनु पर्छ ।

३) बालीनालीको स्वतः बिमा गराउनः
किसानले लगाउने हरेक बालीको सरकारले स्वतः बिमा गरिदिनु पर्छ । कुनै प्राकृतिक प्रकोप वा विपद्बाट बाली नष्ट भए किसानले स्वतः बाली बराबरको रकम पाउनु पर्छ ।

४) किसानलाई निःशुल्क बिजुली उपलब्ध गराउनः
सरकारले सिँचाइको व्यवस्था गर्नु पर्छ । सिँचाइको व्यवस्था गर्न नसकेको अवस्थामा किसानहरूले प्रयोग गर्ने बिजुली निःशुल्क उपलब्ध गराउनु पर्छ । जसबाट किसानले कम लागतमा खेती गर्न सकोस् ।

५) उखु किसानको रकम भुक्तानी गराउनः
चिनी मिलहरूमा उखु बेचे पनि वर्षौदेखि उखु किसानहरूले पैसा पाउन सकेका छैनन् । वर्षौदेखि उखु किसानहरू आन्दोलन गर्दै आएका छन् । भुक्तानी नपाउँदा किसानहरू बिजोगमा परेका छन् । उखुको पैसा माग्दै आन्दोलन गरेका केही किसानको त मृत्युसमेत भइसकेको छ । त्यसकारण अब उखु बेचेकै दिन सहज रूपमा किसानको रकम दिलाउने व्यवस्था गरिनु पर्छ ।

६) बालीनाली नष्ट हुँदा राहत दिलाउनः

प्राकृतिक प्रकोप, विपद्, गुणस्तरहीन बिउ तथा मलखाद, सिजनमा मलको अभावलगायत कारणले बालीनाली नष्ट हुने गरेको छ । नष्ट भएको बालीवापत् सरकारले तत्काल किसानलाई राहत उपलब्ध गराउनु पर्दछ । जसका लागि सरकारले कृषि राहत कोषको स्थापना गर्नु पर्छ ।

७) कृषि उपजको न्यूनतम् मूल्य निर्धारण गराउनः
किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य दिन र बिचौलियाहरूको ठगीबाट जोगिन कृषि उपजको न्यूनतम् मूल्य सरकारले निर्धारण गर्नु पर्छ । कतिपय कृषि उपजको मूल्य निर्धारण हुने गरेको भए पनि उत्पादन वा बिक्री भइसकेपछि मात्र सरकारी मूल्य तोकिने गरेको छ । जसकारण किसानलाई ठूलो क्षति व्यहोर्नु पर्छ । समयमा कृषि उपजको मूल्य निर्धारण गरिनु पर्छ ।

८) किसानलाई पेन्सन दिलाउनः
खेतीकिसानीमा भविष्य छैन भनेर खेतबारी बाँझो राखेर धेरै युवा विदेशिन बाध्य भएका छन् । कृषिबाट युवाहरूको आर्कषण पनि घट्दै गएको छ । खेतीकिसानी गर्दासम्म जीवन चल्ने तर वृद्धवृद्धा भएपछि कृषकहरू अलपत्र हुने गरेका छन् । त्यसकारण अशक्त र ज्येष्ठ किसानलाई जीवन धान्ने पेन्सनको व्यवस्था राज्यले गर्नु पर्छ ।

९) किसानलाई सहुलियत कार्डको व्यवस्था गराउनः
किसानलाई देश वा सीमावर्ती बजारहरूबाट मलखाद, बिउ–बिजन सहज रूपमा ल्याउन किसान सहुलियत कार्डको व्यवस्था हुनु पर्छ । स्वास्थ्यमा समस्या आए किसान कार्ड देखाएर सहज रूपमा उपचार पाउन, किसानका सन्तानलाई छात्रवृत्ति दिलाउनसमेत किसान कार्डको प्रयोग गरिनु पर्छ । वर्गीकरणका आधारमा किसानलाई कार्ड उपलब्ध गराउनु पर्छ ।

१०) प्रत्येक पालिकामा कृषि बजार बनाउनः
किसानहरूले उत्पादन गरेका उपज बिक्रीका लागि उपयुक्त बजारको व्यवस्था छैन । खेत र बजारबीचको दूरी लामो हुँदा ढुवानी खर्च पनि धेरै लाग्ने गरेको छ । त्यसकारण प्रत्येक पालिकास्तरमा कृषि बजार (कृषि मण्डी)को व्यस्था गरिनु पर्छ ।

११) किसानमाथिको दमन बन्द गराउनः
किसानमाथि तीनै तहका सरकारले विभिन्न बहानामा दमन गर्दै आएका छन् । किसानहरूबाट अनुचित घुस लिने, हैरान पार्नेलगायतको समस्या समाधान हुनु पर्छ ।

१२) किसानको माग सरकारलाई सुनाउनः
वर्षौदेखि किसानहरूले विभिन्न माग राखेर संघर्षहरू गर्दै आए पनि राज्यले उनीहरूका मागको सुनवाइ गरेको छैन । त्यसकारण अब संयुक्त रूपमा किसानको माग सरकारलाई सुनाउनु पर्छ ।

कसरी सुरु भयो किसान आन्दोलन ?
डा. सीके राउत नेतृत्वको जनमत पार्टीको आह्वानमा आम किसानहरू आन्दोलनमा होमिएका छन् । शान्तिपूर्ण आन्दोलनमा गाउँ–गाउँबाट किसानहरू सडकमा उत्रिएका छन् । किसानसँग सम्बन्धित विभिन्न संघ–संस्थाको समर्थन किसान आन्दोलनमा रहेको छ ।

आह्वान
आउनुस्, हाम्रा अन्नदाता किसानको जीवन रक्षा गरौँ
आउनुस्, हाम्रा पालनकर्ता किसानसँग न्याय गरौँ
आउनुस्, हाम्रा किसानको भविष्य सुरक्षित गरौँ
आउनुस्, हामी किसानका छोराछोरी आफ्नै परिवारका लागि लडौँ
आउनुस्, हामी किसान एक जुट हौँ
आउनुस्, अन्धो बहिरो सरकारलाई जिम्मेवार बनाऔँ
गाउँ–गाउँबाट उठौँ, टोल–टोलबाट उठौँ, घर–घरबाट उठौँ
आउनुस्, शान्तिपूर्ण आन्दोलनबाट किसानको माग पूरा गराऔँ
किसान आन्दोलन जिन्दावाद !
किसान एकता जिन्दावाद !!

किसान आन्दोलन प्रचार–प्रसार समिति